बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुः(तस्विरहरु)
देशैभर जस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरिएको छ ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठबाट कोरोना विरुद्धको पहिलो खोप सुरुवात गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मेसु डा. श्रेष्ठलाई खोप हस्तान्त्रण गर्दै अभियानको उद्घाटन गर्नु भएको थियो ।
प्रदेशमा ७६ हजार थान खोप आईपुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार उपलब्ध खोप मध्ये प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा समेत वितरण गरिनेछ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालकहरुलाई लगाईने खोपका लागि प्रदेशभरी ३५ स्थानमा खोप केन्द्र रहेका छन् भने यस अन्तर्गत ६४ हजार १ सय ९२ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने भएको छ ।
मकवानपुरमा कार्यरत २ हजार २ सय ८९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणमा यो खोप लागाईने छ । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।