प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने सरकारको निती प्रति नेपाल डेरी एसोसिएसनको आपत्ती
स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने सरकारको निती प्रति उद्योग व्यवसायसंग आवद्ध किसान तथा उद्योगीहरुले विरोध जनाएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल डेरी एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गरी कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न सरकारले ल्याएको अध्यादेश प्रति आपत्ती जनाएको हो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ केन्द्री सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले कृषिमा वैदेशिक लगानी भित्रिए स्वदेशी किसान र लगानीकर्ताहरु विस्थापित हुने अवस्था आउन सक्ने भएकाले यस्तो कार्यनिती खारेज गरिनुपर्ने माग गर्नुभयो ।
उहाँले चोरबाटो हुँदै ल्याइएको ऐन मान्य नहुने बताउनुभयो । सरकार नै लरखराइ रहेको अवस्थामा यस्तो अध्यादेश र ऐन निति ल्याउनु गलत भएको भन्दै उहाँले नसच्याइए आन्दोलनको अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।
डेरी एशोसियनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा वैदेशिक लगानी भित्राउन ल्याएको अध्यादेश गलत रहेको बताउनुभयो । उहाँले सात प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको र केन्द्रमा पत्रकार सम्मेलन गरेर सरकारलाई दबाव दिएको समेत जानकारी दिनुभयो ।
१७ वटा विषयगत संघसंस्था मिलेर संघर्ष समिति गठन गरिएको र १४ गते काठमाडौंमा प्लेकार्ड बोकी विरोध गरि चरणबद्ध आन्दोलनको घोषणा गरिने उहाँको भनाई छ ।
प्रतिनिधिसभाले २०७५ चैत २८ गते अध्यादेश पास नगरेको तर संसद विघटन भएपछि रातारात अध्यादेश ल्याएको कदम गलत रहेको र विषयगत सरोकारवाला संग छलफलनै नगरी ल्याइएकोले अध्यादेश फिर्ता गर्न चरणबद्ध संघर्षमा उत्रने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा डेरी एशोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले चेतावनी दिनुभयो ।
कार्यक्रममा एशोसिएसनका महासचिव प्रल्हाद दाहालले देशमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करीव ११ अर्व, डेरी उद्योगमा ३० अर्व दाना तथा कुखुरापालनमा ४० अर्व गरी कुल ८५ अर्वको लगानी भई करीव १५ लाख भन्दा बढि कृषक तथा श्रमिकहरुमा रोजगारी भइरहेको जानकारी दिनुभयो ।