१९ वर्षीया किशोरीलाई भारत उत्तराखण्डको एकदिने मुख्यमन्त्री बनाईदै
भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरीलाई एक दिनको मुख्यमन्त्री बनाईदैछ । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।
२४ जनवरी अर्थात आज राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् ।
प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।
सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।