हेटौंडा–कुलेखानी–फर्पिङ सडक आज देखि दुई महिना बन्द
हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक आज देखि दुई महिनाका लागि बन्द भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडक खण्ड आज देखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको जानकारी दिनुभयो ।
भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उहाँको आग्रह छ। उक्त सडकको खण्डको भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न लागेकाले २ महिना सवारीसाधन आवतजावत गर्न रोक लगाएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निम्ति निर्देशक डा सहदेव भण्डारीले बताउनुभयो ।
“साँघुरो र घुमाउरो उक्त सडक खण्डमा ढलान र कालोपत्रे गर्न सवारीसाधन बन्दै गर्नुपर्ने भएकाले आवतजावत गर्न रोक लगाएका हौं,”- उहाँले भन्नुभयो । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले भीमफेदी-कुलेखानी सडक खण्डको स्तरोन्नति गरिरहेको छ । उक्त सडक खण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गर्दै आएको छ । उक्त छोटो मार्ग भएर हेटौंडा—काठमाडौं दैनिक ८ सय भन्दाबढी हलुका सवारीसाधनहरु आवतजावत गर्नें गरेका छन् ।
वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरुलाई त्रिभुवन राजपथ वा चितवन—मुग्लिन नौबिसे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । कान्तिलोकपथ ललितपुरतर्फ अत्यन्त जोखिमयुक्त भएकाले प्रयोग नगर्नसमेत प्रहरीले आग्रह गरेको छ । कान्तिलोकपथमा सवारीसाधन सञ्चालन गर्न सवारी साधनहरुलाई परमिट पनि दिएको छैन । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।