अविश्वासको प्रस्तावको प्रकृयासंगै कांग्रेसको भुमिका निश्चित हुने

छहारी संवाददाता
माघ ९, २०७७

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढीसकेपछि मात्र आफ्नो भुमिका निश्चित गर्ने बताउनु भएको छ ।

आज बसेको बागमती प्रदेश सभा बैठक सकिएलगत्तै प्रतिक्रिया दिँदै सो कुरा बताउनु भएको हो । नेता बानियाँले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रकृया अगाडी बढेसंगै कांग्रेसले कुन भुमिका निर्वाह गर्ने भन्ने विषयमा निश्चित हुने बताउनुभयो ।

गएको पुस १० गते नेकपा प्रचण्ड–माधव पक्षका ४५ जना सदस्यहरुले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेललाई नै सत्तामा टिकाउन वा प्रचण्ड–माधव पक्षको नेकपाकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार बनाउन कांग्रेसको अनिवार्य सहयोग आवश्यक पर्ने देखिन्छ । तर कांग्रेसको अलमलका कारण सत्ता समिकरणमा देखिएको अन्यौलता भने कायमै छ ।

प्रदेश सभामा प्रचण्ड–माधव पक्षको ४७, केपी ओली पक्षको ३४, नेपाली कांग्रेसको २२, साझा विवेकशील नेपाली दलको ३ राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र १ स्वतन्त्र गरी ११० जना प्रदेश सभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*