संविधानकै हत्या भएको अवस्थामा हाँस्न सक्दैनौंः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको निर्णयले संविधानकै नै हत्या हुने काम भएको अवस्थामा आफू हाँस्न नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले संविधानकै हत्या भएको समयमा हाँस्न र हँसाउन नसकिने बताउनुभयो, उज्यालो अनलाइनमा खबर छ ।
शनिबार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आम नागरिकको मुहारमा मुस्कान ल्याउन आफूले हसाउँदै हिँडेको भन्दै अब आफू नागरिकलाई रुवाउने पक्षमा नरहेको बताउनुभएको थियो ।
आइतबार काठमाण्डौमा भएको राष्ट्रिय युवा सङ्घको बैठकमा अध्यक्ष प्रचण्डले देश तनावमा रहेको र संविधानको चिन्ता भइरहेको समयमा हाँस्न नसकिने बताउनुभएको हो ।
प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री पार्टीले बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले युवाहरूको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै दुनियाँले देख्ने गरि आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
लामो समयको सङ्घर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै उहाँले सिङ्गो देश नै स्तब्ध भएको बताउनुभयो । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।