विकास विरोधीहरुले अविस्वासको प्रस्ताव दर्ता गराएः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले गरेका विकासका कामलाई इष्र्या गरेर आफू विरुद्धको अविश्वास प्रस्ताव ल्याईएको आरोप लागाएका छन् । हेटौंडामा प्रधानमन्त्री केपी ओली समूहका जिल्ला स्तरीय नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भेलामा बोल्दै मुख्यमन्त्री पौडेलले नेता विग्रिए प्रचण्ड हुने र प्रचण्ड विग्रिए माधव नेपाल हुने भन्दै कटाक्ष गरे ।
मकवानपुरकै संसदहरुको नेतृत्वमा आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै अबको फैसला मकवानपुरका जनताको हातमा सुम्पेको बताए । उनले मकवानपुरका जनताले मकवानपुर र विकास विरोधि त्यस्ता व्यक्तिलाई आगामी निर्वाचनमा सजिलै चिन्ने बताए ।
भेला कार्यक्रममा संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री दाबा लामाले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य काशीनाथ अधिकारी, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल सहित केपी समूहका केन्द्रीय सदस्य एवम् जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।