बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्तावः ६ सांसदको हस्ताक्षर फिर्ता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका ६ जना सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । ६ जना सांसदे मुख्यमन्त्रीका विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । अबको प्रदेशसभा बैठकमा ६ जना नेपाल र प्रचण्ड पक्षका सांसदले मुख्यमन्त्री पौडेलका विरुद्धमा नलाग्ने बताएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ । अरु तीन जनाको नाम भने गोप्य रुपमा राखिएको छ । तत्काल नाम सार्वजनिक नगरेपनि हस्ताक्षर भने फिर्ता लिएको जनाएका छन् ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।
हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताउनुभयो । उहाँ र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
१ सय १० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ३९ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ४१ जना देखिएका छन् ।
केही सांसद अझै ढुलमुलमा छन् । डोरमणि पक्षले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अरु केही सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ । तर अष्टलक्ष्मी पक्षले अविश्वास प्रस्ताव पास हुने र ओली पक्षका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।
अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन । यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ ।
तर उहाँले दल विभाजन भएर अल्पमतमा परेकाले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसको साथ चाहिन्छ । कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मुख खोलेको छैन । दुवै पक्ष कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग संवादमा छन् । बानियाँले भने पार्टी केन्द्रको निर्देशन विना कुनै कदम नचाल्ने बताएका छन् ।