संसद विघटनको विरोधमा मकवानपुरका युवा विद्यार्थीहरु सडकमा उत्रिए(तस्विरहरु)
सरकारले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट कै युवा विद्यार्थीहरु सडकमा उत्रिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै युवा विद्यार्थीहरुले आइतबार बागमती प्रदेशको राजधानी हेटौडामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका अनेरास्ववियु केन्द्रिय सचिव सुदेश पराजुली सहित मकवानपुरका युवा विद्यार्थीहरुले ओली विरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, तानाशाह मुर्दाबाद, सर्वसत्ताबाद मुर्दाबाद, केपी तिम्रो पाराले दुःख पायो साराले लगायतका नारा लगाएका थिए ।
नेकपा पार्टी कार्यालयबाट सुरु भएको पर्दशन बुद्धचोकमा पुगि कोण सभामा परिणत भएको थियो ।मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको हो ।
संसद विघटनको सिफरिस राष्ट्रपतिले स्विकृत गरेपछि नेपाल विद्यार्थी संघ मकवानपुरले पनि दिउँसो विरोध प्रदर्शन गरेको थियो । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दाहालको नेतृत्वमा युवा विद्यार्थीले संसद विघटनको विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका थिए ।