बाँझो जमिन उपयोगमा ल्याउने किसानलाई हेटौंडा उपमहानगरपालिकाको सहयोग कार्यक्रम
हेटौंडा उपमहानगरपालिका भित्रमा बषौदेखि बाँझो रहेका खेतबारीहरु उपयोगमा ल्याउनका लागि चालु आर्थिक वर्षमा कार्यक्रम ल्याइएको छ । बाँझो जग्गालाई खनजोत गर्ने र तरकारी, अन्नबाली उव्जनी गर्ने किसानलाई प्राथमिकता दिएर कार्यक्रम ल्याइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
बाँझो जग्गा उपभोग कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ छुट्याइएको र आवस्यक परेमा अझै बजेट थप गरिने मेयर महतले वबताउनुभयो, जनपत्रले लेखेको छ । खेती योग्य जमिन बाँझो राखेर विदेश जाने, रोजगारीका लागि भौतारिने, अरु दैनिक श्रम गर्ने प्रचलन बढेकाले आफ्नै खेतबारीमा लाग्ने किसानका लागि यो कार्यक्रम ल्याइएको हो ।
हेटौंडाका साबिकका ११ वटा वडामा व्यक्तिका जग्गा थोरै भएपनि पछी थपीएका वडामा बाँझो जमिन राखेर बिदेश जाने धेरै छन् । यसलाई उपयोगमा ल्याएर खेतियोग्य वनाउनका लागि किसानलाई प्रोत्साहित गरिएको मेयर महतले बताउनुभयो ।
बालि क्षतिपूर्ति अनुदानका लागि दश लाख
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बालि क्षतिपूर्ति अनुदानका लागि दश लाख रुपैयाँ सम्म सहयोग गर्ने भएको छ । किसानले आफ्ना बारी र खेतमा लगाएका बालि कुनैपनी कारणबाट उब्जनी नभएमा क्षतिपुर्ति दिनका लागि भनेर दश लाख रुपैयाँ छुट्याएको मेयर हरि बहादुर महतले बताउनुभयो । किसानले खेतबारीमा लगाएका उव्जनीमा कहिले बिउ कमसल परेर उव्जनीनै नहुने र कहिले कुनैपनि खालका रोग देखापरेर पनि नफल्ने भएकाले किसानको राहतका लागि यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
गाइ, बाख्रा, बंगुर र पाडा पालनका लागि प्रोत्साहीत गर्दै डिजीटल मोवाइल माटो ल्याव स्थापनाका लागि सहयोग
हेटौंडा उपमहानगरपालिका क्षेत्रका साना किसानका लागि सहयोगका विभीन्न कार्यक्रम ल्याइएको छ । साना किसानका लागि लक्षित गर्दै गाई प्रर्वदन, बाख्रा, बंगुर, पाडा, पाडी प्रर्बदन कार्यक्रम गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
नगरका विभीन्न क्षेत्रमा लागत साझेदारीमा गाई प्रर्वदन कार्यक्रम गर्नकालागि २१ लाख ३३ हजार रुपैयाँ बजेट छुट्याएको र त्यही अनुसार काम गरिने मेयर महतले वताउनुभयो । त्यसैगरी लागत साझेदारीमै बंगुर प्रर्वदन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
हेटौंडामा साना र व्यावसायीक बाख्राको उत्पादन पकेट विकास कार्यक्रम गरिने भएको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएर यो कार्यक्रम गर्न लागिएको मेयर महतले वताउनुभयो । यसैगरी कृषि र पशुपंक्षि सम्वन्धी तथ्याङक अध्यावधिक कार्यक्रम पनि यो वर्ष गर्न लागिएको छ । यसका लागि एक लाख रुपैयाँ बजेट समेत छुट्याइएको छ ।
हेटौंडामा मिनी डिजीटल मोवाइल माटो ल्याव स्थापना तथा परिक्षणका लागि ससर्त अनुदान बापत ५ लाख रुपैयाँ उपलव्ध गराउन लागिएको छ । युवालाई पनि कृषिमा लगाउने गरी प्रोत्साहनका कार्यक्रम ल्याइएको छ । यसका लागि ड्रागन खेतीका लागि प्रोत्साहन गर्न २ लाख रुपैयाँ बजेट समेत छुट्याइएको उहाँले बताउनुभयो ।