हेटौंडा भरतपुर बर्दघाट प्रसारण लाइन आयोजनाका प्रमुख जैसवाल विरुद्ध भ्रष्टाचार दायर
नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा १० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो, देशसञ्चारमा खबर छ। निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी गर्दा भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस बापत १० लाख लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानपछि जैसवालविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता ताराप्रसाद अधिकारीले जानकारी दिए। रूखहरू कटान गरी ढुवानी तथा घाटगद्दी गर्दा उनले रकम भुक्तानी दिँदा आफ्नो पद, ओहदा र अधिकारको दुरूपयोग गरी भ्रष्टाचार जन्य काम गरेको आयोगको दाबी छ।