बागमती, गण्डकी र प्रदेश एकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
आज बागमती, गण्डकी र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण बागमती, गण्डकी र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन ।
प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो, उज्यालो अनलाइनले लेखेको छ ।
यसैबीच भारतमा आएको निवार नामक तुफानको असर नेपालमा नपर्ने उहाँले बताउनुभएको छ । तुफान कमजोर बन्दै गएकाले यसको असर नेपालमा नपर्ने तर बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभाव के कति पर्छ भन्नेबारे अध्ययन विश्लेषण भैरहेको र अहिले नै यकिन गर्न नसकिने मौसमविद् मानन्धरले बताउनुभयो ।