कुलमान घिसिङको पुनर्नियुक्तिको माग
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै हाम्रो नेपाल, हामी नेपाली भ्रष्टाचार बिरुद्धको अभियान मकवानपुरले आज कोणसभा गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौडाको मुख्य बजारमा रहेको बुद्ध चोकमा कार्यक्रम गर्दै अभियानले घिसिङको पुनर्नियुक्ति, स्वास्थ्य र शिक्षा निशुल्क गर्न, तथा एमसीसी विधेयक खारेजीको माग गरेको हो । नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी घिसिङले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गर्नुभएको छ ।
कार्यक्रममा अभियानका संयोजक गोपी बिकले मुलुकलाई लोडसेडिङ मुक्त गर्न सफल भएका घिसिङलाई तत्काल पुनर्नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो । कोणसभामा कुलमान घिसिङको पुनर्नियुक्ति गर, स्वास्थ्य र शिक्षा निशुल्क गर, डाक्टर गोविन्द केसीको माग पुरा गर, एमसीसी खारेज गर लगायतका नारा लगाईएको थियो ।
कार्यक्रममा अभियानका केन्द्रिय सल्लाहकार शिव अधिकारी, सुन्दर शाही लगायतको उपस्थिती रहेको थियो ।