हेटौंडामा नेकपा र राप्रपा परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश
हेटौंडा उपमहानगरपालिकाका २ वटा वडाका विभिन्न टोलका नेकपा र राप्रपा परित्याग गरी शुक्रबार ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा ५ सानोपोखरामा शुक्रबार बिहान भएको पार्टी प्रवेश कार्यक्रममा हेटौंडा १९ बस्तिपुरबाट राप्रपा र नेकपा परित्याग गरी २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यस्तै शुक्रबार दिउँसो कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको प्रवेश कार्यक्रममा स्थानीय समाजसेवी मिहिनबहादुर लामा र श्यामबहादुर थिङको नेतृत्वमा हेटौंडा १३ रमन्थली र ठूलोथलीका नेकपाका ७ जना कांग्रेसमा प्रवेश गरेका हुन् । दुवै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई स्वागत गर्नुभएको थियो ।
पार्टीमा स्वागत गर्दै नेता बानियाँले कोरोनाको महामारीमा कम्युनिष्ट सरकारले श्रमिक, मजदुर, किसान, उद्योगी, व्यापारी, निर्माण व्यवसायीलाई राहातका कुनै प्याकेज ल्याएर सम्बोधन गर्न नसकेको बताउँदै अहिलेको कम्युनिष्ट सरकार विकराल महामारीमा पनि भ्रष्टचारमा लिप्त र नातागोतालाई कमाउ धन्दामा लगाउन मात्रै सक्रिय भएको बताउनुभयो ।
लोकतन्त्रमा कांग्रेसले कसैसंग सम्झौता नगर्ने बताउँदै नेता बानियाँले कांग्रेसको सिद्धान्त र विचारलाई मनपराएर आउनुहुनेहरुलाई क्षमता, योग्यता, निरन्तरता र जनताप्रतिको उत्तरदायित्वका आधारमा मूल्याकंन गरेर पार्टीमा यथोचित भूमिका दिईने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं तरुण विभाग प्रमूख अर्जुन तिवारी, जिल्ला सदस्यहरु भीमसेन महत, सुनिल अधिकारी, महासमिति सदस्य रञ्जन कालाखेती, प्रतिनिधिसभा २ का संघिय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालालगायत कांग्रेसका हेटौंडा उपमहानगर तथा गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।