हेटौडा बजार दुइचरणमा सञ्चालन, सवारी साधनमा जोरविजोर लागु
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मुख्य बजार शुक्रबारबाट दुइचरणमा खुलेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बिहान बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडा बजार दुईचरणमा खोल्ने निर्णय गरेपछि बिहानैबाट बजार निर्वाद रुपमा सञ्चालनमा आएका हुन् ।
जिल्लाका दश वटै स्थानीय तहका लागि यो नियम भएपनि हेटौंडा बाहेक अरु नौ स्थानीय तहमा भिड नहुनेगरी दिनैभर सबै खाले पसल खोल्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । पहिलेको तुलनामा आजबाट मकवानपुरमा बजार खुल्ने समय पनि बढाइएको छ ।
यसअघि बिहान ५ देखि १० बजेसम्म खुल्ने गरेको बजार अब बिहान र दिउँसो गरी २ समयमा खुल्ने प्रजिअ नेपालले बताउनुभयो । उहाँका अनुसार बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छन् भने बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल खुल्नेछन् । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्नेछन् ।
यस्तै प्रशासनले निजी सवारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्म लागु हुनेछ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले शैक्षिक संस्था, धार्मिक एवं सामाजिक स्थल, सैलुन, पार्लर, स्वीमिङ पुल, सपिङ मल, जिमखाना लगायतका क्षेत्र अर्को सूचना नभएसम्म सञ्चालन नहुने जनाएको छ ।