स्वास्थ्य सर्तकता अपनाउन सम्पूर्ण जिल्लावासीमा जिसस प्रमुख खुलालको आह्वान

छहारी संवाददाता
भदौ १५, २०७७

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण मकवानपुरवासीमा आह्वान गर्नुभएको छ ।                                                                                    सोमबार एक विज्ञप्ती जारी गर्दै प्रमुख खुलालले समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले स्वास्थ्य सर्तकता अपनाउन आव्हान गर्नुभएको छ । प्रमुख खुलालले कोरोना भाइरसको अहिलेसम्म कुनैपनि उपचार बिधि आइनसकेको र थोरै सावधानी अपनाइएमा यस भाइरसको सङ्क्रमणबाट बच्न सकिने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै अनुसाशित भएर कार्यहरू गर्न समेत आग्रह गर्नुभएको छ ।                                                                                              उहाँले भन्नुभएको छ– “लामो समयको बन्दाबन्दीका कारण आम सर्वसाधारण जनताको दैनिकीमा ठुलो असर परेको छ । सधैम्भरि बन्दाबन्दीमै बस्न समेत नसकिने हुँदा जिल्लामा जारी निषेधाज्ञा समेत केही खुकुलो बनाउँदै स्वरुप परिर्वतन गरेर जनतालाई आफ्नो दैनिकीमा फर्काउने लक्ष्य लिईएको छ । तर, बन्दाबन्दी वा निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दैमा पनि यस समस्याको समाधान हुनसक्ने अवस्था नरहेकाले आम मकवानपुरबासी आफै सचेत भएर सुरक्षित हुन जरुरी छ ।”
उहाँले स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना गर्दै सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित रुपमा साबुनपानीले हात धुने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आव्हान गर्नुभएको छ । साथै कोरोना भाइरसको सङ्क्रमण भई हालेमा पनि स्वास्थ्य सर्तकता र सावधानी अपनाएमा यस रोगबाट निको हुन सकिने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभएको छ ।
त्यस्तै उहाँले यदाकदा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएका व्यक्ति, स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई अभद्र व्यहार भएका खबरहरू समेत आएकाले त्यसो नगर्न समेत आग्रह गर्दै समुदायमा कसैलाई कोरोना सङ्क्रमण भईहालेमा नआत्तिकन आफ्नो वडाअध्यक्ष मार्फत उपचार विधिमा जान आग्रह गर्नुभएको छ ।                                                                                     साथै कोरोना भाइरसको महामारीमा सबै एकजुट भएर लाग्ने र जुट्नेभन्दा विकल्प नभएकाले स्वास्थ्य सुरक्षा अपनाएर सचेत, सुरक्षित भएर कार्य गर्न सम्पूर्ण मकवानपुरबासीलाई आव्हान गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*