मकवानपुरमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन, भोलीबाट के गर्न पाइने के गर्न नपाइने ! पढ्नुहोस्
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलीबाट निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा भोलीबाट खुकुलो बनाउने निणर्य भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।
सोमबार बिहान बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बजार बन्दको स्वरुप परिवर्तन गरी बिहान १० बजेसम्म सबैप्रकारका व्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै दिउँसो केही घण्टा बैँक तथा कार्यालय खोल्न सहज बनाइएको भएको छ । दिउँसोको समयमा बजार र यातायात भने बन्द रहने प्रजिअ नेपालले बताउनुभयो । यो निर्णय भदौ २५ गतेसम्म लागु हुनेछ ।
यस्तै बिहान १० बजेदेखि टिफर सञ्चालन गर्न दिइनेछ भने खाद्यान्न लगायत विभिन्न सामग्रीहरु लोड अनलोड गर्न साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म समय निर्धारण गरिएको छ । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको व्यवस्थापन गरेर मात्र सञ्चालनमा आउनुपर्नेछ । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाईने छ ।
मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वहरुको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्य र औषधिजन्य लगायतका अतिआवश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको हो ।