मकवानपुरमा ४ जिपीए ल्याउने विद्यार्थीको संख्या अनुमानित ५० भन्दा बढी
यस बर्षको एसइइ परीक्षामा मकवानपुरबाट सहभागी विद्यार्थीहरु मध्ये ५० जना भन्दा बढीले ४ जिपीए ल्याएर उत्तीर्ण भएका छन् ।
यस बर्ष जिल्लामा ४ जिपीए ल्याउने विद्यार्थीहरुको संख्या अनुमानित ५० भन्दा बढी भएको प्याब्सनका केन्द्रीय सदस्य मदन दहालले जानकारी दिएका छन् । दहालका अनुसार इतिहासमै पहिलो पटक जिल्लामा ४ जिपीए आएको दाबी गरेका छन् । दहाल आफै पनि यो बर्षको एसइइ परीक्षाफल प्रति सन्तुष्ट नरहेको बताएका छन् ।
अप्रत्याशित रुपमा मकवानपुरमा समेत परीक्षाफल आएपछि शिक्षा विकास तथा समन्वय इकाईले १० वटा विद्यालयहरुलाई अंक दिनुको आधार तथा पुष्ट्याई गर्ने आवश्यक कागजात माग गरेको इकाई प्रमुख लिलानाथ गौतमले बताए, हेटौडा न्युज डटकमले लखेको छ । गौतमका अनुसार यस बर्षको परीक्षाफलले परीक्षा बोर्डले परीक्षाफल हेर्न वा अनुगमन गर्न केही अंकुश राख्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
अघिल्लो एसइइमा देशैभरबाट सहभागी भएका मध्ये १ सय ६ जनाले मात्रै ४ जिपीए ल्याएका थिए । यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण एसइइ परीक्षा हुन सकेन र सरकारले शैक्षिकसत्रमा असर नपुगोस् भन्दै विद्यालय आफैले मूल्यांकन गरी नम्बर पठाउन सक्ने निर्णय गरेको थियो । तर विद्यालय आफैले नम्बर पठाउँदा भने परीक्षाफल अप्रत्याशित ढङ्गले आए पछि यसको चर्चा शुरु भएको छ ।
कोरोना संक्रमणको त्रासका कारण यस बर्षको एसइइ परीक्षा गर्न विद्यालयका प्रधानाध्यापक, १ जना बरिष्ठ शिक्षक र विषयगत शिक्षकको समितिले निर्धारण गरेको अंकको आधारमा परीक्षा बोर्डले यस बर्षको परीक्षाफल प्रकाशित गरेको थियो । मकवानपुरमा ९४ वटा सामुदायिक विद्यालय र ३६ वटा निजी विद्यालय रहेका छन् । मकवानपुरबाट ६ हजार २ सय १८ जना यस बर्ष एसइइ परीक्षामा सहभागी रहेका थिए ।