नेपाली सैनिककाे दाेस्राे आचारसंहिता सप्ताह शुरु
आजदेखि नेपाली सैनिककाे दाेस्राे आचारसंहिता सप्ताह शुरु भएको छ । गतबर्षदेखि मनाउन सुरु गरिएकाे अाचारसंहिता सप्ताह प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित जंगी अड्डामा एक कार्यक्रमबीच शुभारम्भ गर्नुभएकाे छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा “आचारसंहिता सप्ताह” सञ्चालन गर्न शुरु गरिएको बताउनुभयाे ।
उहाँले संगठन सुधारका लागि कार्यरत सबै तहमा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गर्दै आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताउनुभयाे ।
सोही अवसरमा प्रधानसेनापति थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकोले नेपाली सेनामा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिनुपर्ने बताउनुभयाे ।
आचारसंहिता सप्ताह नेपाली सेनालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यहरुका बारेमा सुसूचित गराउदै एक अनुशासित, आचारणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका सञ्चालन गरिएको हो ।
सप्ताहव्यापि कार्यक्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुने राताेपाटिमा समेत उल्लेख गरिएकाे छ ।
आज शुभारम्भ गरिएकाे उक्त सप्ताहव्यापि कार्यक्रम श्रावण ८ गतेसम्म सञ्चालन हुनेछ