हेटौंडामा दाहसंस्कार कार्य व्यवस्थित बनाउँदैछौंः मेयर महत
हेटौंडामा अब दाहसंस्कार कार्य मेसिनबाट गरिने भएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको दाहसंस्कार गर्ने स्थानलाई व्यवस्थित र वातावरणमैत्री बनाउन राप्ती नदी किनारमा मेसिन जडान गर्ने तयारी थालीएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । यसका लागि उपमहानगरपालिकाले खरिद प्रकृयाको काम सकेको छ ।
यसैबीच दक्षिण एशियाकै पहिलो मानव निर्मित हेटौंडाको सुरुङ्गको संरक्षण र सम्बर्धन गर्ने कार्यलाई निरन्तरता दिदै सुरुङ्ग परिसरमा सुरुङ्गका डिजाईनर बिग्रेडिएर कर्णेल डिल्लिजंग थापाको प्रतिमूर्ती स्थापनाको प्रकृया अन्तिम चरणमा पुगेको मेयर महतले बताउनुभयो, जनपत्रले लेखेको छ ।
हेटौंडामा युवा तथा वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि उपमहानगरपालिकाले विभिन्न खेलकुद क्रियाकलाप संचालन गर्न हेटौडा–८ को चन्द्रोदय माविको चौरमा प्रदेश सरकारसंगको सहकार्यमा यसै बर्ष भित्र सम्पन्न हुने गरी निर्माण गर्न लागिएको प्याराफिटसहितको खेलकुद प्रशिक्षण केन्द्र निर्माणको लागि दोस्रो पटकको टेण्डर प्रकृया अगाडी बढाईएको छ ।
हेटौंडाको व्यवस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माण कार्यको लागि ६३ करोड बराबरको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न लागिएको छ । अव बसपार्कलाई व्यवस्थित र सुन्दर रुपमा निर्माण कार्य थालिने मेयर महतले वताउनुभयो । हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समयसापेक्ष सुविधायुक्त सभागृह सहितको बासुदेव बहुउद्देश्यीय व्यवसायिक कम्पलेक्स र भ्यूटावर निर्माणको लागि बिस्तृत परियोजना तयार भईरहेको अवस्था छ ।
पुरानो बसपार्क क्षेत्र स्थित १० नंम्बर वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुविधायुक्त संरचना सहितको व्यवसायिक कम्पलेक्स भवन निर्माणका गर्नका लागि बिस्तृत परियोजना तयार पार्ने कार्य भईरहेको मेयर महतले बताउनुभयो ।