अमेरिकी स्वतन्त्रता दिवस: जुलाई ४ को सम्बोधनमा ‘उग्रवादी वामपन्थी’लाई परास्त पार्ने ट्रम्पको प्रतिबद्धता

छहारी संवाददाता
असार २१, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण झन् बढेका बेला ४ जुलाईको सम्बोधनमा कोभिड-१९ विरूद्ध मुलुकले “प्रगति” गरिरहेको बताए।

महामारी व्यवस्थापनमा उनको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई “पूर्ण रूपमा जिम्मेवार बनाउनुपर्ने” बताए।

हालै रङ्गभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गरे। उनले “उग्र वामपन्थी, मार्क्सवादी, ध्वंसवादी, आन्दोलनकारी र लुटेराहरूलाई” परास्त पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने “उनीहरूको लक्ष्य ध्वंस हो।”

जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो। कोरोनाभाइरसका कारण यस वर्षको स्वतन्त्रता दिवसका धेरैजसो कार्यक्रम रद्द गरिएका थिए।

ट्रम्पले साथमा श्रीमती मेलानिया राखेर ह्वाइटहाउसको बगैँचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीको भिडलाई सम्बोधन गरेका थिए। उनले “हाम्रो देशका प्रतिभाशाली वैज्ञानिकहरूले आउँदो वर्षको अन्त्य अगावै औषधी वा खोपको समाधान निकाल्नेछन्” भने।

अहिले अमेरिकामा विश्वकै सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित छन् र सबभन्दा धेरै मानिसको मृत्यु पनि त्यहीँ भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिवार २४ घण्टामा मात्र ४३ हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए।

सङ्क्रमण सबभन्दा चुलिएको फ्लोरिडामा मात्र ११,४५८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। राष्ट्रपतिले सम्बोधनमा करिब १ लाख ३० हजार जनाको मृत्युको सन्दर्भ उल्लेख नै गरेनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*