नागरिकता ऐेनको संशोधन प्रस्ताव सच्याउन जनता समाजवादीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
जनता समाजवादी मकवानपुरले नागरिकता ऐेनको संशोधन प्रस्ताव सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदवाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रीय महासन्धी विरोधी भएको भन्दै उक्त विधेयक सच्याउन माग गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएको जिल्ला नेता राजेन्द्र सिम्खडाले जानकारी दिए ।
समान व्यवहार गरि राज्यका सबै नागरिकहरुको अभिभावक बन्ने अवसरको सदुपयोग गर्न सरकारलाई गम्भिरतापूर्वक आग्रह गर्ने ज्ञापन पत्र पेश गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय नेता सोनाम सिं स्याङतानले बताए । यदि विभेद निषेध र वहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकारलाई कसैले रोक्न नसक्ने केन्द्रीय सदस्य स्याङतानले बताए ।
ज्ञापन पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले प्रधानमन्त्रीको कार्यालयसँग समन्वय गरेर उक्त पत्र छिट्टै पठाइने बताए ।
प्रजिअ नेपाल, मकवानपुर प्रहरी प्रमुख शुशिल सिं राठौर, सुचना अधिकारी देवचन्द्र गर्तौलाको उपस्थितिमा जसपाका जिल्ला नेताहरु तुफान विक्रम क्षेत्री, हरिहर खतिवडा, बिकेन्द्र लामा लगायत ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागि भएका थिए ।