बलात्कारको प्रयास लुकाउन र सम्पत्तिको लालचमा आफ्नै ससुरा सहित चार जनाले गरे सुस्मिताको हत्या
हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की २६ बर्षीया सुस्मिता केसीको हत्या प्रकरणमा संलग्न ४ जना अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरी आज सोमबार सार्वजनिक गरेको छ ।
मृतक केसीको हत्यामा उनकै ४ जना परिवारको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठोरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
आर्थिक प्रलोभनका कारण परिवारकै ४ जना सदस्यहरुले सुस्मिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटना घटेको दिन जेठी नन्द दुर्गा थापा भने काठमाडौँ गएकी थिइन् । तर घटनामा उनी पनि संलग्न भएको देखिन्छ – प्रहरी उपरीक्षक राठोरले भने । प्रहरीले अभियुक्त चारै जनालाई जन्म कैद सजाँयको माग गरेको छ ।
प्रहरी भन्छ – घटना हुनुको मूख्य २ कारण यस्ता छन्
मृतक केसीको हत्यासंग २ वटा प्रमुख कारणहरु जोडिएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार हत्यामा आर्थिक र यौन दुव्र्यहार प्रमुख कारण हो । मृतक केसीको श्रीमान् रुपेन्द्र थापाको २०७६ असोज २३ गते कपिलवस्तुबाट हेटौँडा आउँदै गर्दा मोटरसाइकल दूर्घटनामा परी मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनले पाउने करिब ४० लाख बीमा बापतको रकम , काम गर्ने सिएसआई इन्टरनेशनलबाट आउने तलब, भत्ता तथा बोनस ससुरा प्रकाश थापाले आफुले पाउनुपर्ने दाबी गर्दै आएका थिए । मृतक केसीलाई परिवारका सदस्यहरुले श्रीमान् मर्नुमा उनकै दोष हो भनी पटक पटक मानसिक तनाव समेत दिँदै आएको प्रहरीले खुलाएको छ ।
त्यसैगरी मृतक सुस्मितालाई उनका ससुराले घरकै बाथरुमा यौन दूर्व्यवहारको प्रयाससमेत गरेको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यहरुले आर्थिक प्रलोभनका कारण र यौन दूर्व्यवहार लुकाउन सुस्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी राठोरले जानकारी दिए । साभार: तुखबर ।