बकैया गाउँपालिकाको बजेट ६५ करोड १९ लाख

आर्थिक, सामाजिक, पूर्वाधार, विपद् व्यवस्थापन, लगायतमा समपुरक कोष अन्तर्गत हुने गरी विनियोजन गरिने
छहारी संवाददाता
असार १०, २०७७

मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । ‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’ भन्ने मूल नाराका साथ आज बुधबार भएको गाउँपालिकाको छैठौं गाउँ सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइुन् । प्रस्तुत बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ । त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३२ लाख ६० हजार रुपैयाँ राजश्व आय प्रक्षेपण गरेको छ, भने चालु आर्थिक वर्षको ३ करोड ५० लाख रुपैयाँ नगद मौज्दात रहने अनुमान प्रस्तावित बजेटमा छ ।

संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक वर्षको मौज्दात समेत गरी जम्मा ३३ करोड ८४ लाख ८६ हजार २ सय ३० रकम मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ८४ लाख ६८ हजार २ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट गरी सशर्त अनुदानतर्फ प्राप्त २८ करोड ३५ लाख १८ हजार रुपैयाँ रकमलाई सम्बन्धित तहबाट नै तय भई आए बमोजिम खर्च गरिने छ । साथै प्रदेश सरकाबाट प्राप्त २ करोड ९९ लाख ८३ हजार रुपैयाँ समपुरक अनुदानलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उल्लेख छ ।

संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण, राजश्व बाँडफाँड, वार्षिक अनुमानित राजस्व आय र गत वर्षको मौज्दात गरी कुल रकमको करिब २१ प्रतिशत अर्थात् ७ करोड रुपैयाँ बजेट संचालन खर्चतर्फ विनियोजन गरिएको छ । यस्तै, विकास बजेटतर्फ करिब ७९ प्रतिशत अर्थात २६ करोड ८४ लाख ६८ हजार २ सय २० रुपैयाँ विनियोजन गरिएको हो ।

विकास बजेटतर्फ छुट्याइएको रकममध्ये वडागत सिलिङको आधारमा ६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । यस्तै, वडा समितिको कार्यालयद्वारा सिफारीस भई आएका एवम् गाउँ कार्यपालिका र विभिन्न समितिहरुले आवश्यकता पहिचान गरेका भवन निर्माण, ठुला सडक आयोजना विषयगत शाखाका कार्यक्रम गाउँपालिकाको संस्थागत विकास लगायतका विभिन्न आयोजना तथा कार्यक्रमहरुका लागि २० करोड ५४ लाख ६८ हजार २ सय ३० रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रस्तावित बजेट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तथा समपुरक कोष अन्तर्गत हुने गरी विनियोजन गरिने नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ । प्रस्तावित कार्यक्रमबारे बजेट तथा कार्यक्रम तर्जुमा समितिले थप छलफल गरी बजेट विनियोजन गरिने पनि जानकारी दिइएको छ ।

प्रस्तावित नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै गाउँ कार्यपालिका सदस्यहरु लक्ष्मीमाया माझी, बीरमान बल, गोपाल न्यासुर र राजन दंगालले सबै पक्ष मिलेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नीति, कार्यक्रम तथा बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै वक्ताहरुले कार्यान्वयन गर्न सफल भए बकैया समृद्ध हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*