भ्रममा नपर्न अनुरोध गर्दै नेता अनन्त पौडेलले सुनाए घटना विवरण

छहारी संवाददाता
जेष्ठ १०, २०७७

नेकपाका नेता तथा संविधानसभाका सदस्य अनन्त पौडेलले आफ्नो र आफ्नो परिवारको विषयमा अनावश्यक हल्ला आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तु खबरसँग कुराकानी गर्दै नेता पौडेलले आफ्नो र आफ्नो परिवारको तर्फबाट कुनै पनि लापरवाही नगरिएको र सचेत हुँदाहुँदै पनि परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिएको स्पष्ट पारेका हुन् ।""

सामाजिक सञ्जालमा अनावश्यक हल्लाहरु आइरहेका छन्, यसले मलाई दुखी बनाइरहेको छ, उनले भने । उनका अनुसार, लकडाउनको पूर्ण पालना गर्दा गर्दै यो नहुनु पर्ने घटना हुन गयो ।

साथै, सबैलाई कोरोना संक्रमण नहोस् भनेर थप सचेतता अपनाउन पनि उनले सुझाव दिए ।

उनले घटना विवरण यसरी सुनाए –

मेरी श्रीमतिको पेट र मुटुमा समस्या थियो । मैले चार गते आफै ड्राइभ गरेर हेटौंडा अस्पताल लगेँ । अस्पतालमा चेकजाँचपछि आवश्यक उपकरणको अभावका कारण चितवन वा काठमाडौँ लैजान सल्लाह भयो । त्यसपछि मैले बिरामी काठमाडौँ लिएर आएँ । सहिद गंगालाल अस्पताल लगेँ । अस्पतालमा पुगेपछि त्यहाँबाट पेट सुन्निएको कारणले टिचिङमा लैजान र त्यहाँ भए मुटु र पेट दुबैको राम्रो उपचार हुने भनिएपछि म टिचिङ अस्पताल पुगेँ ।

टिचिङ अस्पताल पुगेपछि ४ गते नै आरडीटी परिक्षण गरियो । नतिजा नेगेटिभ आयो । त्यसपछि अस्पतालले बिरामीको भर्ना गर्यो । ५ गते पुनः आरडीटी परिक्षण गरियो । त्यसको नतिजा पनि नेगेटिभ आयो ।

हातहरु सुन्निएका कारण ६ गते समान्य ज्वरो आयो । त्यसपछि चिकित्सकले पीसीआर परिक्षणका लागि स्वाब संकलनको काम गरे ।
त्यही पीसीआर टेष्टमा नतिजा पोजेटिभ देखिएको हो । हामीले फर्म भर्दा हेटौंडा – ३ भनी ठेगाना टिपाएका छैनौँ । स्पष्टसँग हेटौंडा – ४ नै भनी फर्म भरिएको छ ।

मेरी छोरी फागुनको २१ गते क्यानडाबाट आएकी हुन् । त्यस दिन यता हामी होम क्वारेन्टाइनमै छौँ । अनावश्यक बाहिर हिड्ने काम पनि गरेका छैनौँ । हामी परिवारका सदस्यबाहेक अन्यसँग लापरवाही तरिकाले भेटघाट गरेका पनि छैनौँ ।

फागुनमा आएकी छोरी अहिले जेठको दोस्रो साता सुरु भइसकेको छ । त्यसकारण, मेरो श्रीमतिलाई हेटौंडामा संक्रमण भएको हो भन्ने लाग्दैन । हेटौंडामा संक्रमण हुन्थ्यो भने २ पटकसम्म आरडीटी जाँच गर्दा नेगेटिभ आउने थिएन । जे समस्या भयो, काठमाडौँमा अस्पतालमै भयो कि भन्ने लागेको छ ।

अहिले विरामीको अवस्था सामान्य छ । ज्वरो आएको छैन । मुटु तथा पेटको अवस्था पनि सामान्य छ ।

म सामाजिक व्यक्ति भएका कारणले सबैतिर चासो र चिन्ता व्यक्त भइरहेको मैले थाहा पाएको छु । हामी अहिले सेल्फ क्वारेन्टाइनमै छौँ । हामीसँग सम्पर्क भएकाहरुका बारेमा सम्बिन्धित निकायमा जानकारी गराइसकेको छु ।

कोरोना संक्रमणको जोखिम बढाउने गरी हाम्रो तर्फबाट त्यस्तो कुनै गतिविधि समेत नभएको जानकारी गराउन चाहन्छु । चिन्ता गरेर प्रश्न राख्ने तथा सहानुभूती व्यक्त गर्ने सबैमा धन्यवाद दिन चाहन्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*