कोरोना अपडेटः भारतमा मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो
भारतमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट १ सय ५७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९६ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ९६ हजार एक सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन भेटिएका कोरोना भाइरसको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १ हजार एक सय ९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा ३६ हजार आठ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।