मकवानपुरमा बिहानैदेखि लकडाउनमा कडाई(तस्विरहरु)

हेटौडा अस्पतालमा बिरामीको चाप कम, सवारी चलाउनेलाई कार्वाही, खाद्यान्न र ग्याँस बाहेकका पसल बन्द
छहारी संवाददाता
जेष्ठ १, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि मकवानपुर प्रशासनले आजदेखि लकडाउन कडा पारेको छ । आज बिहानैदेखि लकडाउनको कडा रुपमा पालना गराउन चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।

यद्यपी केहि स्थानमा अटो, मोटरसाइकलहरु चल्न तथा मानिसको चहलपहल अझै कम हुन सकेको छैन । हेटौडाको मुख्य सडक सुनसान प्राय छ तर भित्री सडकहरुमा चहलपहल अझै देखिन्छ ।

यता हेटौडा अस्पतालमा भने आज बिरामीको उपस्थिती पातलो छ । जचाँउन आएकाहरुलाई अस्पतालको मुख्य गेट नजिकै डेस्क स्थापना गरी जरो जाँचेर मात्रै भित्र प्रवेश गर्न दिइएको छ । मास्क नलगाएकाहरुलाई गेटबाटै फिर्ता पठाइएको छ ।

छिमेकी जिल्लाहरुमा लगातार कोरोना संक्रमित बढ्न थालेपछि मंगलबार हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले जिल्लामा लकडाउ कडा पारेको हो । बैठकले जेठ १ गते देखि ग्याँस तथा खाद्यान्न पसलमात्र बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

यस्तै आजदेखि मोटरसाईकल तथा अटो सञ्चालनमा पनि रोक लगाइएको छ भने बजारमा ग्याँस र खाद्यान्न बाहेकका अन्य पसल सञ्चालन गरेको पाईएमा कडा कारबाही गरिने भएको छ । यस्तै माछामासु तथा एकिकृत तरकारी बजार समेत बन्द भएका छन् ।

यद्यपी मेडिकल, पशुपंछी तथा कृषिऔषधीजन्य पसलहरु सञ्चालन गर्न दिइएको छ । बैंकहरु बिहान १० देखि दिउँसो ३ बजेसम्म खुल्ला रहने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*