नेतान्याहु पाँचौपटक इजरायलको प्रधानमन्त्री
कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु एक पटक फेरि इजरायलको प्रधानमन्त्री बनेका छन् । भ्रष्टाचारको आरोप लाग्दा र तीन पटकको चुनावमा बहुमत नपाउँदा पनि उनले राजनीतिक गठबन्धनको आधारमा फेरि प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।
नेतान्याहुले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल हो । नेतान्याहु सबैभन्दा पहिले १८ जुन १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकाल ३१ मार्च २००९ देखि १८ मार्च २०१३ सम्म थियो,अनलाइन खबरमा समाचार छ ।
तेस्रो कार्यकाल १८ मार्च २०१३ देखि ६ मे २०१५ सम्म र चौथो कार्यकाल ६ मे २०१५ देखि ९ अप्रिल २०१९ सम्म थियो । इजरायलको पछिल्लो चुनावमा नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवैले बहुमत पाउन सकेका थिएनन् । तर दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मिलिजुली सरकार गठन गरेका छन् ।
दुवै नेताहरुले कोरोना कहरको बेला देशलाई स्थीर सरकार चाहिएकाले यो गठबन्धन जरुरी रहेको बताएका छन् । पार्टीका नेता नेतान्याहु र विपक्षी ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गात्जले सरकार चलाउने विषयमा १४ पृष्ठ लामो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।