भोली बिहानैदेखि लकडाउनको पूर्ण पालना गर्नु पर्नेछः मकवानपुर प्रशासन
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि मकवानपुर प्रशासनले भोलीदेखि लकडाउन कडा पार्ने भएको छ । भोली बिहानबाटै लकडाउनको कडा रुपमा पालना गराउने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख दिपकराज नेपालले बताउनुभयो ।
मंगलबार हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले भोलीदेखि ग्याँस तथा खाद्यान्न पसलमात्र बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यसको कडा कार्यान्वय गराउने विषयमा आज पनि छलफल भएको प्रजिअ नेपालले बताउनुभयो ।
यस्तै भोलीदेखि मोटरसाईकल तथा अटो सञ्चालनमा पनि रोक लगाईने भएको छ भने बजारमा ग्याँस र खाद्यान्न बाहेकका अन्य पसल सञ्चालन गरेको पाईएमा कडा कारबाही गरिने भएको छ ।
यस्तै माछामासु तथा एकिकृत तरकारी बजार समेत बन्द हुनेछन् । यद्यपी मेडिकल, पशुपंछी तथा कृषिऔषधीजन्य पसलहरु सञ्चालन हुनेछन् भने बैंकहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने प्रशासनले जनाएको छ ।