कृषि उत्पादनको व्यवस्थापन र कृषिमा अनुदान उपलब्ध गराऊः इन्सेक बागमती प्रदेश
विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले देश लकडाउनमा भएको बेला नेपालकै प्रमुख बालिहरुमा असर परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले जनाएको छ ।
इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमद्वारा वैशाख १५ गते जारी गरिएको प्रेस विज्ञप्तिमा लकडाउनका कारण कृषि उत्पादनकाे वजार व्यवस्थापन नभएकाे र देशको मौसम अनुसार खेती सुरु भएको अवस्थामा आवश्यक मल, बिउ सर्वशुलभ रुपमा नपाइएको जनाइएको छ ।
यसै गरी विज्ञप्तिमा लकडाउन सुरु भएको एक महिना पुगिसक्दा पनि कृषकले खेतीका लागि आवश्यक मल, बीउ नपाएको बागमती प्रदेशस्थित इन्सेक प्रतिनिधिहरूले पठाएको प्रतिवेदनबाट सूचना प्राप्त भइरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा किसानले सहजरुपमा आफ्नो काम गर्न नपाएको मुख्य खाद्यबाली तथा तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्राङ्गारिक मलको अभाव भएको उल्लेख गरिएको छ ।
त्यसका साथै कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवकोट लगायत जिल्लाका कृषकहरू मर्कामा परेको तथा कृषकले उत्पादन गरेको काउली, बन्दा, मुला, करेला, लौका, फर्सी जस्ता ताजा तरकारी बारीमै कुहिने गरेको विज्ञप्तिमा उल्लेख छ ।
एकातिर कृषि उत्पादनले बजार नपाइरहँदा अर्कोतर उपभोक्ता भने तरकारी तथा फलफूल लगायतका उभोभोग्य वस्तुको अभाव र चर्को मूल्य वृद्धिको मारमा रहेको भन्दै यस विषयमा बेलैमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा किसानका समस्या समयमै समाधान नभए यसले पार्ने असर दीर्घकालीन हुने उत्पादनमा कमी आउँदा आगामी दिन झन् खाद्य जोखिममा पर्ने औँल्याइएको छ ।
यसैबीच, विज्ञप्तिमा संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध विचार र अभिव्यक्ति कुण्ठित हुने गतिविधि देखिएकाले मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।