स्पेनमा पछिल्लो २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु, इटलीमा लकडाउन खुकुलो पारिँदै

छहारी संवाददाता
बैशाख १५, २०७७

कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसहरूको मृत्यु भयो। जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो।

शनिवार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको जनाएको छ। 

इटलीमा लकडाउन खुकुलो पारिँदै
यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन्।

टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए। उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन्। पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन्।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ। इटलीमा अमेरिकापश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ। तर हाल त्यहाँ लगातार मृतकको सङ्ख्यामा कमी आइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*