पेरिसमा पाइपको पानीमा पनि कोरोना भाइरस भेटियो
फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा पनि कोरोना भाइरस भेटिएको छ । २७ वटा पानीको नमुना परिक्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने हाल सम्म पत्ता लगाउन सकिएको छैन ।
अन्र्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो, हेल्थपाटी डटकमले लेखेको छ ।
’कोरोना भाइरस सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम नभएको पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भन्नुभएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले पानीको माध्यामबाट कोरोना भाइरस संक्रमित नहुने बताएको थियो ।
महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरस फेला परेको हो ।
त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।
भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका प्रमुखले बताउनुभयो ।