मकवानपुरमा लकडाउन उलंघन बढेपछि प्रशासनले गर्यो कडा निर्णय
मकवानपुरमा लकडाउनको उलंघन बढेपछि जिल्ला प्रशासन कार्यालयले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन थप कडाई गर्ने निर्णय गरेको हो ।
आज गरिएको निर्ण अनुसार अब अस्पताल जाँदा बाहेक मोटरसाइकलमा २ जना यात्रा गर्न पाइने छैन । बसापर्क र खोपेगल्लीका तरकारी पसलबाट थोकमा मात्रै तरकारी विक्रि वितरण गर्नुपर्नेछ । खुद्रा खरिदकर्ताले आफ्नो घर नजिकको पसलबाट मात्रै सामान खरिद गर्नुपर्नेछ ।
कमाण्ड पोष्टको बैठकले सामान्य कामलाई पनि अत्यावश्यक भनी अनाश्वयक रुपमा घर बाहिर निस्कनेलाई पक्राउ गर्ने निर्णय समेत गरेको छ ।
यसअघि प्रशासनले तरकारी र खाद्यान्न किनमेलको लागि भन्दै बिहान १० देखि दिउँसो ३ बजेसम्म समय तोकेपछि लकडाउन उलंघन धेरै भएको थियो ।