हेटौंडा अस्पतालमा जचाउँन आउने बिरामीको संख्या ह्वात्तै घट्यो
दैनिक पाँच सयको हाराहारीमा बिरामी उपचारका लागि आउने हेटौंडा अस्पतालमा अहिले जचाउन आउनेको संख्या ह्वात्तै घटेको छ ।
अस्पतालको आकस्मीक सेवा २४ सै घण्टा खुला छ, डाक्टरहरु पनि तैनाथ छन् । तर, बिरामीको चाप भने यसरी कम हुनुको कारण कोरोना भाइरसको त्रास नै रहेको अस्पताल प्रशासनको ठम्याइ छ ।
अहिले अस्पतालमा दैनिक करीब ८० जना बिरामी मात्रै चेकजाँचका लागि आउने गरेको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ बताउनुहुन्छ । कोरोना भाइरसको त्रास बढेसंगै सरकारले लकडाउन गरेपछी नियमित अस्पतालमा चेकजाँच गर्न आउने बिरामी कम भएको हुन सक्ने श्रेष्ठाको बुझाइ छ ।
यसैबीच चालु आर्थिक वर्षको नौ महिनामा हेटौंडा अस्पतालमा ९६ हजार ५ सय बिरामीको चेकजाँच भएको छ । गत आर्थिक वर्षमा भने एक वर्षको अवधिमा ९८ हजार जना बिरामीले सेवा लिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा सेवा सुविधामा बृद्धि भएका कारण निजी अस्पताल भन्दा हेटौडा अस्पतालमा आउनेको संख्या अझै बढ्ने श्रेष्ठको भनाई छ ।
घरमा नै बसेर ठाक्टरको परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उहाँले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनु पनि उहाँले आग्रह गर्नुभयो ।
दम बढ्दा, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउदै उहाँले ज्वरो कोरोनाका कारण मात्र नभइ डेंगु, मलेरिया, स्क्रब टाइफस, हेपाटाइटिस जस्ता कारणले पनि आउने बताउनुभयो ।