भारत लगायत अन्य मुलुकबाट मकवानपुर फर्किएका ४ सय २४ जनाको पहिचान
मकवानपुर जिल्लामा विदेशबाट फर्कनेहरुको पहिचानमा जिल्लाका स्थानीय तह लागि परेका छन् ।
बिदेशबाट फर्कनेहरुसंग नै कोरोना भाइरसको संक्रमण बढेकाले उनीहरुको पहिचानका लागि मकवानपुरका दशवटै स्थानीय तहका सरकार लागि परेका हुन् । हेटौंडा उपमहानगरपालिकामा विदेशबाट आएका एक सय ८४ जनाको पहिचान भएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो, जनपत्रले लेखेको छ ।
विदेशबाट हेटौंडामा आएका सवैजसो नागरिक आफ्नै घरमा सुरक्षित तरिकाले रहेको मेयर महतले बताउनुभयो । केही भने क्वारेन्टाइनमा राखिएको र धेरैजसो घरमै बसेका छन् ।
मकवानपुरमा सवै स्थानीय तहमा गरी ४ सय २४ जना विदेशबाट आउनेहरुको पहिचान भएको छ । पहिचान भएका धेरैजसोलाई स्थानीय सरकारका वडा अध्यक्ष, प्रमुख उपप्रमुखहरुले सेल्फ क्वारेन्टाइन र स्थानीय सरकारले तयार पारेका क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरिएको छ ।
विदेशबाट फर्किएकाहरु थाहा नगरपालिकामा ८४ जना फेला परेको मेयर लवशेर विष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी मकवानपुरको कैलाश गाउँपालिकामा ६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, मनहरी गाउँपालिकामा ६९ जना, राक्सीराङ गाउँपालिकामा ७ जना, मकवानपुर गढी गाउँपालिकामा ५ जना, वकैयाँ गाउँपालिकामा १२ जना र बागमती गाउँपालिकामा २४ जनाको पहिचान भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
विदेशबाट फर्किएकाहरुको सवैको पहिचान गरेर घरमै रहेपनि उनीहरुलाई कोरोना भाइरसको चेकजाँच भने गरिएको छैन ।