इटालीमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ हजार नाघे

अमेरिका, स्पेन, इरानमा समेत संक्रमणमा बृद्धि
छहारी संवाददाता
चैत्र ११, २०७६

इटालीमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । सोमबार एकै दिन ६०२ जनाको मृत्यु भएसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमानेको संख्या ६ हजार नाघेको हो । त्यहाँ हालसम्म कोभिड–१९ का कारण ६ हजार ७७ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा संक्रमितको संख्या ६३ हजार ९२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । इटालीमा गएको शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार र सोमबार भने त्यो भन्दा केही कमको मृत्यु भएको हो ।

 कोरोना भाइरसको संक्रमण अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमितको संख्या कम्तिमा ४३ हजार ७३४ पुगेको छ । यस्तै थप १४० जनाको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ ।

स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा थप ६३ सय ६८ जनामा नयाँ संक्रमण पुष्टि भएको स्पनेमा कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । थप ४१ सय ८३ जनामा संक्रमण पुष्टि भएको जर्मनीमा कुल संक्रमितको संख्या २९ हजार ५६ पुगेको जनाइएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा इटालीपछि सबैभन्दा धेरै ५३९ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको कुल संख्या २३ सय ११ पुगेको छ । 

यस्तै २३ हजार ४९ कुल संक्रमित रहेको इरानमा मृत्यु हुनेको संख्या १८ सय १२ पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या तीन लाख ७८ हजार ८४८ पुगेको छ । विश्वभर अहिलेसम्म १६ हजार ५१४ जनाको मृत्यु भएको छ । यस्तै एक लाख दुई हजार ६९ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*