स्वास्थ्यकर्मीहरु नै सुरक्षित छैनन्ः डा. हरिबहादुर खड्का

छहारी संवाददाता
चैत्र ११, २०७६

कोभिड–१९ को त्रास फैलिँदै गर्दा आवश्यक सुरक्षा उपकरणको अभावमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरु नै जोखिममा छन् । ‘भाइरस त हामीले नै परिवारमा सार्छौं जस्तो भयो’, हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले भने ।

उनी भन्छन्, ‘हामी सुरक्षित छैनौं, बिरामीलाई नआउ भन्न पनि गाह्रो, आएपछि हेर्न पनि गाह्रो, सरकारले बोलेको छ, गरेको छैन, यस्तै अवस्था रहेमा भयावह स्थिति नआउला भन्न सकिन्न ।’ प्रदेश सरकारले तयारी छ भनेर दाबी गरेपनि केस आइहाल्यो भने कसलाई खबर गर्ने भन्नेसम्म स्पष्ट हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीहरुका अनुसार डाक्टरहरुको व्यक्तिगत सुरक्षाका लागि आवश्यक कुनैपनि प्रविधि अहिले अस्पतालमा छैन ।

‘हामी परिवारमा जाँदा हामी, परिवार हुँदै अन्यत्र फैलन सक्ने भयो, डाक्टरहरु नै केही समयको लागि क्वारेन्टाइनमा बस्ने घर नजाने हो की’, डा. खड्काको भनाई छ । खतरामुक्त हुनका लागि व्यक्तिगत सुरक्षा उपकरणहरु आवश्यक हुन्छ, अहिलेसम्म त्यस्तो केही नभएको र चाइनाबाट ल्याउने तयारी संघीय सरकारको रहेकोले भोली मंगलबारसम्म आउने आशामा डाक्टरहरु छन् ।

बालरोग विशेषज्ञ डा. खड्का भन्छन्, ‘५ हजार पिस मगाएको भन्ने सुनेको छु, डिस्पोजेबल हुने भएकाले त्यो पर्याप्त हुनेछैन ।’ भयाबह हुनबाट बचाउने हो भने प्राइभेट र सरकारी सबै अस्पतालमा सरकारले नै नियम बनाएर स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा प्रविधि उपलब्ध गराउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*