बागमती प्रदेशको राजधानी हेटौंडामै कोरोनासंग जुध्ने सामग्री अभाव
बागमती प्रदेशको राजधानी हेटौंडाका सवैजसो मन्त्रालयमा कोरोना भाइरसबाट बेलैमा सचेत रहनका लागि बैठकहरु धेरै पटक भए, संघ, प्रदेश देखि जिल्ला स्तरसम्म सवैखालका तयारी भइरहेका छन् । तर, कोरोना भाइरस कुनै व्यक्तिमा देखिहालेमा उपचार गर्ने सामग्री, डाक्टरका लागि चाहिने सुरक्षाका साधनहरुको अभाव रहेको छ ।
कोरोना भाइरसका बिरामीको शंका लागेमा उपचार गर्नका लागि मास्क समेतको अभाव रहेको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्का बताउनुहुन्छ, जनपत्रमा खबर छ । हाल प्रदेश आपुर्ति केन्द्र हेटौंडामा केही सामाग्री पनि स्टक राखिएको छ । तर, ती सामाग्री पर्याप्त छैनन् ।
केन्द्रमा २५ सेट पीपीएफ, एन ९५ मास्क एक सय ५० थान, २ हजारवटा सर्जिकल मास्क, थर्मल स्क्यानर ५ वटा राखिएको छ । यी सामग्री पर्याप्त होइनन् । सवै समाग्री हेटौंडाको अस्पतालका लागि मात्र पनि राखिएको होइन । प्रदेशभरीका अस्पतालका लागि भनेर राखिएको हो ।
त्यसैले पहिले कोरोना लागिहालेमा बिरामी ओसार्ने एमुलेन्स देखि उपचार गराउने अस्पतालमा सवैखालका सामग्री उपलब्ध हुनुपर्ने डाक्टरहरु बताउँछन् ।
कोरोनाको परिक्षणका लागि डाक्टरलाई मोनिटर सहितको भेन्टीलेटर, ल्याब सहितको मोबाइल एम्बुलेन्स, रगतमा अक्सिजनको मात्रा देखाउने मेसिन, अक्सिजन प्लान्ट, इन्ट्युबेटिङ सेट सिआरआरटी मेसिन, थर्मो्मिटर, सर्जिकल पञ्जा, व्यक्तिगत सुरक्षा सामग्रीहरु, एन ९५ मास्क, इन्फारेड थर्मो्मिटर लगायतका सामाग्री आवस्यक पर्छ ।
यी मध्यमा धेरैजसो सामग्रीको अस्पतालमै अभाव रहेको डाक्टर खड्काले बताउनुभयो । डाक्टर एक दुईजनाले मात्र लगाउने भन्दा पनि उपचारमा संलग्न सबैले प्रयोग गर्ने सामग्रीको अभावमा समस्या भएको उहाँले बताउनुभयो ।
कोरोना रोकथामका लागि संघीय सरकारसंगै बागमती प्रदेश सरकारले एकपछि अर्को निर्णय गर्दैछ । आवात, जावतमा रोक लगाउनेदेखि क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने निर्णय भएको छ । अस्पताल आधारित तयारीमा स–साना तर, महत्वपूर्ण तयारी नगरेर सबैले क्वारेन्टाइन र आइसुलेसनमा मात्र जोड दिएर यसको समस्या समाधान नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।