निर्भया बलात्कार काण्डका चारै दोषीलाई फाँसी दिइयो 

सात वर्ष तीन महिना चार दिनमा निर्भयाले पाइन् न्याय
छहारी संवाददाता
चैत्र ७, २०७६

सन् २०१२ डिसेम्बर १६ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारत सरकारले मृत्युदण्ड दिएको छ ।

दोषीहरु अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई आज बिहान साँढे ५ बजे दिल्लीको तिहाड जेलमा फाँसी दिइएको हो । चारै जनालाई दुई ओटा लिभर बनाई एकैसाथ मृत्युदण्ड दिइएको जेलका अधिकारीलाई उद्यृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा मृत्यु भएको थियो । सात वर्ष तीन महिना चार दिनमा निर्भयाले न्याय पाएकी हुन् ।

दोषीलाई मृत्युदण्ड भएपछि निर्भयाकी आमाले न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने,-‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’

यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो । सन् २०१२ डिसेम्बर १६ मा रातको समयमा दिल्लीमा २३ वर्षीया मेडिकल छात्रा निर्भयालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए ।

चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए । एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*