एचआईडिका श्रमिकहरुका लागि स्वास्थ्य परिक्षण
उद्योग संघ मकवानपुरको आयोजनामा स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम संचालन भएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र मकवानपुरमा संचालित करिब १ सय ५० उद्योगमा कार्यरत ६ हजार ५ सय कर्मचारीहरुका लागि स्वास्थ्य परिक्षण संचालनमा ल्याईएको हो ।
बिहान ७ बजेदेखि संचालित स्वास्थ्य परिक्षणमा अहिलेसम्म ३ सय ८२ जनाले उपचार लिएका छन् । आज ४ बजेसम्म स्वास्थ्य परिक्षण गरिनुका साथै ७ गतेसम्म संचालन गरिने बताईएको छ, लालखबरले लेखेको छ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र औद्योगिक सुरक्षा बल, हेटौंडाको सहकार्य तथा वि.एन.पि. सपोर्ट सर्भिस प्रा.लि.को प्रायोजनमा उक्त परिक्षण गरिएको सर्भिसका बासुदेव तिमल्सिनाले बताएका छन् ।
कर्मचारीका साथै स्थानियहरुसहित करिब ९ हजारलाई चेकजाँच गर्ने लक्ष्यका साथ व्यक्तिगत सरसफाई, कोरोनासम्बन्धि जानकारीका साथै रक्तचाप, श्वासप्रश्वास, ज्वरोलगायतको परिक्षण गरिने बताईएको छ ।
स्वास्थ्य परिक्षणमा हेटौंडा अस्पतालका फिजिसियन डा. दोजेन्द्र बस्नेत, डा. सागर काफ्लेसहित १० जनाको टिमले परिक्षण गरिरहेको र निः शुल्क रुपमा औषधिहरु समेत वितरण गरिरहेको छ ।