हेटौंडा-काठमाडौ कान्तिलोकपथ निर्माणमा तिनै तहको सरकारको चासो

छहारी संवाददाता
चैत्र ४, २०७६

हेटौंडा–काठमाण्डौं कान्तिलोकपथ निर्माण गर्न तीन तहकै सरकारको चासो देखाएका छन् । 

बषौं देखि कान्तिलोकपथ निर्माण गर्न लागिएपनि यसको काम समयमै सक्नका लागि धेरै खालका बाधा र कठिनाइ भएपछी यसको निर्माणमा सवैको चासो बढेको हो । यो सडक अन्तरगत केही स्थानमा पिच गरिएको छ, जनपत्रले लेखेको छ । केही स्थानमा निर्माण गरिदैछ । 

कान्तिलोकपथको १५ किलोमिटर पिच गर्नका लागि बाँकी रहेकोले अव केही स्थानमा पीच गर्ने र अत्यन्त जोखिम क्षेत्रमा पीच नगर्ने तयारी भएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सहितको टोलीसंग भएको छलफलपछी कान्तिलोकपथ र त्रिभुवनराजथ निर्माणका लागि तीनै तहका सरकार र सांसदहरुले सडक निर्माणका लागि चासो देखाएका छन् ।

यस क्षेत्रको १२ किमी सडक अव आउँदो फागुन सम्ममा पिच हुनेगरी काम भइरहेको र पहिरोको जोखिम भएका स्थानमा अहिले पीच नगर्ने सांसद खतिवडाले वताउनुभयो । अरु क्षेत्रमा काम गर्ने तयारी भएको सांसद खतिवडाले वताउनुभयो । 

हेटौंडा काठमाण्डौको अर्को सडक त्रिभुवन राजपथमा यो वर्ष मकवानपुरमा ३४ करोड, धादिङमा १७ करोडको काम भईरहेको उहाँले वताउनुभयो । पीच गर्ने काम पनि भइरहेको छ ।

कान्तिलोकपथ निर्माण गर्नका लागि बागमती प्रदेशका मन्त्री, मकवानपुरका सांसद र स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन् । छलफलमा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, बागमती प्रदेशसभाका सदस्यहरु, मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कान्ति लोकपथमा भौगर्भिकलगायत अध्ययन गरी आगामी वर्षको फागुनसम्ममा काम सक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

विसं २०१२ देखि शुरु भएर पटक–पटक रोकिँदै आएको लोकपथका समस्या समाधान गर्नुपर्ने माग गर्न वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलको नेतृत्वमा यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको माग मन्त्रालयमा सम्बोधन गर्नुहुँदै उहाँले निर्माण व्यवसायीलाई काम छिटो गर्न पत्र काटी काम नगर्नेलाई कालोसूचीमा राख्न सिफारिस गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

“भौगर्भिक रुपमा ठूलो समस्या भएका स्थानमा एलाइनमेन्ट परिवर्तन गर्न सकिन्छ, आइपरेका समस्या समाधान गरेर काम अघि बढाउनुस्, तालिका अनुसार आयोजनाले काम गर्नु प¥यो, अब तोकिएको समयमा काम सक्नुपर्छ”–उहाँले भन्नुभयो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले स्थलगत अनुगमनका क्रममा लोकपथको ७९ किमीमध्ये करिब चार किमीमा भौगोलिक अवस्थाका कारण अप्ठ्यारो देखिएको बताउनुभयो ।

“सडकमा पहिरो लागेको स्थानमा जोगाउन अर्को आयोजना शुरु गर्नुपर्ने अवस्था देखियो, सडकको भौगर्भिक अध्ययन पनि गरिनुपर्छ, आयोजनाका लागि आगामी आर्थिक वर्षका लागि थप बजेटको व्यवस्था होस्”, उहाँले भन्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अहिले कान्ति लोकपथ काठमाडौँलाई हेटौँडासम्म जोड्ने वैकल्पिक सडकका रुपमा प्रयोग गर्न नसकिने बताउनुभयो । निर्माणाधीन सडक भएकाले फर्पिङ सडकको अहिले नै विकल्प बन्न नसक्ने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हलुका सवारी साधन गुडिरहेका छन् तर सडकमा विभिन्न खण्डमा निर्माण सकिएको छैन ।”

आयोजना कार्यालयका प्रमुख गनेन्द्र झाले लोकमार्गमा अहिले कतै पनि ठेक्का तोड्नुपर्ने गरी समस्या नभएको बताउनुभयो । भालुखोलामा रहेको ढुङ्गाखानीका कारण लोकमार्गमा पहिराको जोखिम रहेको बताउनुभयो । 

सडकको अधिकार क्षेत्रमा रहेका घरहरुको अधिग्रहणका लागि प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्योगका लागि बनाइएका पहुँच सडकका कारण पनि विभिन्न किसिमका समस्या आइरहेको छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*