स्वस्तिका दाहालले जितिन यसवर्षको मनमाया स्मृति गजल पुरस्कार
बकैया गाउँपालिका–३ मा रहेको बुद्ध माध्यमिक विद्यालयकी कक्षा १२ की छात्रा स्वस्तिका दाहालले यसवर्षको मनमाया स्मृति गजल पुरस्कार जित्न सफल भएकी छन् । गजल मञ्च मकवानपुरले हरेक वर्ष आयोजना गर्ने कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीबीचको गजल प्रतिष्पर्धाबाट यसवर्षको सर्वोत्कृष्ट गजलकारमा दाहाल चुनिएकी हुन् ।
शनिबार हेटौंडामा आयोजित १६५ औं गजल यात्रा तथा गजल प्रतियोगितामा १८ जनालाई प्रतियोगीलाई पछि पार्दै पुरस्कार जितेकी हुन् । उनले नगद २ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । निर्णायक पुरुषोत्तम आचार्य र सुनिल गौतमले उत्कृष्ट ५ गजल छनौट गरी बाचनको लागि निम्त्याइएको थियो । त्यसमध्ये निर्णायक मण्डलले स्वस्तिकालाई सर्वोत्कृष्ट घोष्ति गर्दै पुरस्कार प्रदान गरिएको हो ।
मञ्चका अध्यक्ष देवराज तिवारी, प्रमुख अतिथि गीतकार तथा गजलकार तुलसी घिमिरे, पुरस्कार संस्थापक गजल मञ्च मकवानपुका पूर्वअध्यक्ष दीपक गौतमलगायतले दाहाललाई पुरस्कार वितरण गरिएको थियो । जिएस निकेतनकी शृष्टि चौलागाई र युकिसा अधिकारी, बकवानपुर बहुमुखी क्याम्पसकी प्रिती खड्का र नवोदय शिशु सदनकी ईशा कार्की उत्कृष्ट पाँचभित्र अटाएका थिए । उनीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममाबीच करिब डेढ दर्जनभन्दा बढी गजलकारले गजल बाचन गरेका थिए । कार्यक्रममा दीपक गौतम, पुरुषोत्तम आचार्य, सुनिल गौतम, मसान उपासक, डीबी वर्ताैला, मनोज पोखरेल, चिरञ्जीवी लामिछाने, सानु खनाल, केशव समर्पण, भोला शिवाकोटी, विशाल अधिकारी आशुतोष, सुरेन्द्र घलान, शान्तिप्रिय बन्दना, सञ्जित श्रेष्ठ, गान्धी गौतम, एसआर मञ्जरी, लक्ष्मी कँडेल चौलागाईं, राम कार्कीलगायतले गजल बाचन गरेका थिए । कार्यक्रमकाबीच हेटौंडा–५ का सुस्केरा परिवार टोलीले सांगीतिक गजल पनि प्रस्तुत गरेका थिए ।
मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, नियात्राकार रमेशमोहन अधिकारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, आँचल साहित्य कला पुञ्जकी कार्यबाहक अध्यक्ष अनिता न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।