मनहरीमा अर्को उदाहरणीय कामः विद्यार्थीको विद्यालय छाड्ने दर कम गर्न दिवा खाजा कार्यक्रम सुरु 

छहारी संवाददाता
फाल्गुन २७, २०७६

मनहरी गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यालय छाड्ने दर कम गराउनका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी आर्थिक बर्षमा पनि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताउनुभयो । यस बर्ष विद्यालय खुल्ने ६० दिनका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय फागुन २१ गते बसेको छैटौँ गाउँसभाले गरेको हो, मनहरी लाइभले लेखेको छ ।

गाउँपालिकाभित्रका ३२ वटै विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय पारित भएर कार्यान्वयन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालू आर्थिक बर्षमा को चैत, बैशाख, जेठ र असार महिनामा गरी विद्यालय खुल्ने ६० दिनका लागि ४ हजार ७ सय ८२ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउनेछ । प्रतिविद्यार्थी १५ रुपियाँका दरले खाजा खुवाउने तयारीरहेको गाउँपालिकाले जनाएको छ ।

दिवा खाजा कार्यक्रमबाट विद्यार्थीहरुको विद्यालय छाड्ने दर कम हुने, पोषणको मात्रा पूरा हुने र विद्यालय समयभर विद्यार्थीहरु विद्यालयबाहिर नजाने अपेक्षा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष एबम् प्रवक्ता मनिला बिष्टले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि व्यवहारिक किसिमको कार्यविधि निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*