आर्थिक रुपमा सबल नभए महिलाले अधिकार प्राप्त गर्न सक्दैनन्ः मन्त्री पद्मा अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने दाबी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले संविधानमा उल्लेख भएका अधिकार सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो,सीआईएनले लेखेको छ ।
सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र त्यसै अनुसार नै काम अगाडि बढेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा रहेका महिलाले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गरी महिला सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलालाई चुनौती रहेको बताउनुभयो । उहाँले अझैपनि निर्णय गर्ने ठाउँमा महिला पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उहाँको भनाइ छ ।
राष्ट्रियसभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताउनुभयो । उहाँले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउनुभयो ।