आफ्ना छोराछोरीको शिक्षा, स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने माग 

छहारी संवाददाता
फाल्गुन २४, २०७६

निजामती कर्मचारीहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष आफ्ना छोराछोरीको शिक्षा, स्वास्थ्यको व्यवस्थाका लागि राज्यले जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव तोयम राया मार्फत नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशका अध्यक्ष पुरुषोत्तम रायमाझी सहितको टोलीले विदेश भ्रमणमा जान पाउनु पर्ने लगायत ३५ बुँदे माग राखेको हो ।

संगठनले ज्ञापनपत्रको २७ नम्बर बुँदामा संघीय सरकारले प्रदान गर्ने तालिम भ्रमण, वैदेशिक तालिम भ्रमणमा कर्मचारी पठाउँदा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समानुपातिक रुपमा छनौट गर्नुपर्ने माग राखेको छ ।

३० नम्बर बुँदामा निजामती कर्मचारीहरुको सन्नतीको लागि शिक्षा र स्वास्थ्यको जिम्मेवारी संघीय, प्रदेश सरकार र स्थानीय सरकारले लिने व्यवस्था गर्न संगठनले माग गरेको छ । संगठनले बिहीवार हेटौंडामा गरेको अन्तक्रिया कार्यक्रममा प्रदेशका सामाजिक मन्त्री युवराज दुलाल समक्ष राखेको मागलाई परिमार्जन गरेको छ ।

मन्त्रीसमक्ष राखेको मागमा विदेश भ्रमण गर्न पाउनु पर्ने र छोराछोरीलाई पढाउन स्कुल खोल्नुपर्ने माग राखिएको थियो । बागमती प्रदेशका प्रमुख सचिव तोयम रायसँग कर्मचारीहरुका समस्या र मागका सम्बनधमा छलफल गर्दै नेपाल राष्ट्रिय कर्मचारी निजामती संगठनका प्रतिनिधि ।

संगठनले कर्मचारी समायोजन संशोधनको लागि सहमती प्रदान गर्ने काय रोक लगाइनुपर्ने, प्रादेशिक निजामती सेवा ऐन जारी गरी उक्त ऐनमा पूर्व अनुमानयोग्य, वैज्ञानिक सरुवा र बढुवा हुनुपर्ने, प्रदेश लोकसेवा आयोगले तत्काल कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने, निर्माणाधिन प्रादेशिक निजामती सेवा ऐनमा श्रेणीबिहीन कर्मचारीहरुको ग्रेड संख्या १० पुर्याउनु पर्ने माग राखेको छ ।

यसैगरी प्रदेश सेवातर्फ कार्यरत कर्मचारीहरुलाई निश्चित अवधीमा तहगत बढुवा तथा वृद्धि विकास सुनिश्चितता गर्न निश्चित कोटो व्यवस्था हुनुपर्ने, सफ्टवेयर प्रणालीबाट बढुवा र सुरुवा हुने व्यवस्था कायम गर्नुपर्ने, राष्ट्रियस्तरका टे«ड युनियनहरुले बेलाबेलामा राखेका मागलाई संबोधन गर्नुपर्ने, प्रत्येक कार्यालयमा शिशु स्याहार केन्द्रको स्थापना गर्नुपर्ने माग संगठनले राखेको छ ।

त्यस्तै, कर्मचारीहरुको लागि वर्षको एक महिना बराबरको पर्यटन सुविधा उपलब्ध गराउने निर्णय भेदभाव नगरी बागमती प्रदेशको कार्यक्षेत्रभित्रका सबै कर्मचारीलाई उपलब्ध गराइनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारीहरुको टे«ड युनियन अधिकार प्रदान गरिनुपर्ने लगायतका अन्य मागहरु संगठनले मुख्यमन्त्री समक्ष राखेको छ ।

ज्ञापत्र पत्र बुझाउने कार्यक्रममा संगठनका केन्द्रीय सदस्य दिनेश लम्साल, नेपाल राष्ट्रिय कर्मचारी निजामती महासंघका केन्द्रीय सदस्य बस्नतराज गौतम, संगठनका प्रदेश सचिव श्रवण ढुंगाना, संगठन मकवानपुरका अध्यक्ष राजु अर्याल, प्रदेश सदस्य गणेशबहादुर भुजेल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*