बागमती प्रदेश भरीका सरकारी अस्पतालमा कोराना भाइरस आईसोलेसन बेड तथा हेल्प डेस्क स्थापना गर्न निर्देशन जारी
सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भरीका सरकारी अस्पतालहरुमा कोराना भाइरस आर्ईसोलेसन बेड तथा हेल्प डेस्क स्थापना गर्न निर्देशन जारी गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाईरसको उच्च जोखिममा राखेको हुँदा सामाजिक विकास मन्त्री युवराज दुलालले बागमति प्रदेश मातहतका सबै सरकारी अस्पतालमा कोरोना भाईरस उपचारका लागि ५० वटा आईसोलेसन बेड तथा हेल्प डेस्क अनिवार्य स्थापना गर्न निर्देशन जारी गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री दुलालले हेटौंडा, भरतपुर र भक्तपुरमा हेल्प डेस्क स्थापना सकेको र अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गर्न निर्देशन जारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – 'रसुवा र सिन्धुपाल्चोक जिल्ला भने अन्य जिल्लाको तुलनामा विकट भएका कारण कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीलाई अस्पतालसम्म ल्याउन दुई वटा एम्वुलेन्स समेत उपलव्ध छन् ।'
मन्त्री दुलालले कोरोना भाइरसबाट स्वास्थ्यकर्मी देखि आम नागरिक समेत आतंकित भएकाले यसको संक्रमण भित्रन र फैलिन नदिन बिभिन्न समिति बनाएर काम समेत गरीरहेको जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि तिनै तहसङ्ग समन्वय भएको जानकारी गराउनुभएको छ ।
कोरोना भाइरस सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक प्रकाश शाहले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिजविज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खाना खाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगर्न आग्रह गर्नुभयो ।
उहाँले जनावरको प्रत्यक्ष सम्पर्कबाट कोरोना सर्ने हुँदा मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएर मात्र खान आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामीला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फूयाँल, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब तोयम राय लगायत अन्य सरोकालवालाहरुको उपस्थिती रहेको थियो ।