महिलाले अझै पूर्ण अधिकार प्राप्त गर्न सकेका छैनन्ः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिला अधिकारको आन्दोलन कहिलै समाप्त नहुने बताउनु भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरले १११ औं अन्तराष्ट्रिय महलिा दिवसको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आज भएको महिला अधिकार विषयक जिल्ला स्थित निर्वाचित महिला जनप्रतिनिधिहरुको एक दिने भेला तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री पौडेलले महिलाले घरदेखि नै विभिन्न किसिमका समस्याहरु बोकेर पनि संघर्ष गरिरहे पनि पूर्ण अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले अधिकार प्राप्तीको आन्दोलनमा अझै सशक्त ढंगले लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
महिलाले अहिले पाएको जिम्मेवारीलाई प्रभावकारी बनाए भोलिका दिनमा नेतृत्व लिन सक्ने भन्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य क्षमता विस्तार गर्न सुझाव दिनुभयो । महिला सबै क्षेत्रमा उपप्रमुखको भूमिका भएर पनि काम गर्न समेत नपाएको गुनासो सुनेको भन्दै उहाँले यो आन्तरिक समस्या समाधान गरेर काम गर्ने वातावरण बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद मुनु सिग्देलले प्रदेशमा सात वटा मन्त्रालय हुँदा समेत एक जना पनि महिला मन्त्री नबनाइएकोमा आपत्ति जनाउनुभयो । उहाँले अहिले पनि पुरुष हावी हुने गरेको गुनासो गर्नुभयो । कार्यक्रममा संघीय सांसद विन्दा पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुरका स्थानीय तहका उपप्रमुख, महिला सदस्यहरु, कार्यपालिकाका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।