रामचन्द्र पौडेल पक्षधरले गरे कांग्रेस संस्थापन पक्ष र सरकारको कडा आलोचना
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले कांग्रेस संस्थापन पक्ष र सरकारको कडा आलोचना गरेका छन् ।
आगामी महाधिवेशन लक्षित गर्दै चुनावी गतिविधि अगाडी बढाएको पौडेल पक्ष जिल्ला दौडाहा अभियान अन्तरगत आज हेटौडा आइपुगेको थियो । सोही अवसरमा प्रेस युनियान मकवानपुरले अयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले नेकपा प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरेप लगाउनुभयो ।
देश पूर्ण रुपमा भ्रष्टाचारमा डुबेको भन्दै उहाँले नेकपाको सरकारले गरेको नितीगत तथा संस्थागत भष्ट्रचारको विरुद्ध कांग्रेस चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो । बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री पदमा बसेर ७० करोड कमिसनको खेलमा लागेका सञ्चारमन्त्रीको ढाकछोप गर्नु लज्जाको विषय भएको बताउनु भएको छ ।
सभापती शेरबहादुर देउवालाई लक्षित गर्दै उहाँले पार्टी नेतृत्व परिस्थीति अनुरुप चल्न नसकेको टिप्पणी गर्नु भएको छ । परिस्थीति अनुरुप प्रतिपक्षी कांग्रेसले आफ्नो कर्तव्य, अधिकार र दायित्व निभाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेता पौडेलले भन्नुभयो– 'पार्टी सभापतीको व्यक्तीगत विरोध होइन, योे नितीगत र प्रवृतिगत मतभेद हो ।' सभापतीको प्रवृत्तिका कारण दुई तिहाई सरकारको प्रतिपक्षमा जसरी नेपाली कांग्रेसले सशक्त ढंगले उभिनु पर्थ्यो त्यो गर्न नसकेको उहाँको आरोप छ ।
नेता पौडेलले १४ औं महाधिवेसन नजिकिदैं गर्दा पार्टी सभापतिले विभिन्न पद बाँडेर विधान विपरित गरेको आरोप समेत लगाउनु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले १४ औं महाधिवेसन प्रारम्भ भइसकेको अवस्थामा यतिखेर पार्टी सभापतिले विभाग गठन गरेर मान्छेलाई आकर्षित गर्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो – '४ वर्ष सम्म विभाग गठन नगर्ने अहिले आएर २८ वटा विभाग गठन गर्नुको तात्पर्य के हो ? यसमा हाम्रो असहमति छ ।'
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेसनको मिति तोकिसकेको अवस्थामा प्रजातान्त्रिक पार्टी रहेकोले अधिवेसन निष्पक्ष र धाधली रहित तवरले हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीलाई सुदृढ गर्न, प्रभावकारी बनाउन पार्टी सभापतिले समय सुहाउँदो किसिमले नेतृत्व प्रदान गर्न नसकेको टिप्पणी गर्नुभयो ।
यस्तै केन्द्रीय सदस्य डा रामशरण महतले सबैको सहमतीमा हुनुपर्नेमा कुराहरु एकतन्त्रीय ढंगले गरिदिँदा पार्टीभित्र समस्या भएको बताउनुभयो । उहाँले समस्याको समाधान तर्फ लाग्नु पर्ने भन्दै गुटगत नभई एक भएर जान अपिल समेत गर्नु भएको छ ।