मोटरसाइकलले ठक्कर दिँदा हेटौंडा ११ का निर्जलको ज्यान गयो
मकवानपुरको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा नजिकै मोटरसाइकलले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
नवलपुरबाट हेटौंडा बजार आउँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ८ वर्षका निर्जल रानाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।
उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी कार्कीले बताउनुभयो । तिव्र गतिमा आइरहेको मोटरसाइकलले बाट काट्न लागेका निर्जललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकको चुरेहिल अस्पतालमै उपचार भइरहेको बताइएको छ ।