हेटौंडामा उपभोक्ता भेला तथा सचेतना कार्यक्रम
हेटौंडामा उपभोक्ता भेला तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको आयोजनामा शुक्रबार सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका कार्यालय प्रमुख सोमकान्त रिजालको अध्यक्षता तथा उपभोक्ता हित संरक्षण मंच, नेपालका केन्द्रीय अध्यक्ष ज्योति पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सचेतना कार्यक्रममा सिद्धार्थ शिशु सदन र जनज्योति माध्यमिक विद्यालयका गरि १८ जना विद्यार्थीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो, लालखबरले लेखेको छ । ।
कार्यक्रममा कार्यालय प्रमुख रिजालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको परिचय, स्थापना तथा कार्यालयले गर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले उपभोक्ताको हकहित सम्बन्धि व्यवस्था गरिएका ऐन, कानुन सम्बन्धि पनि जानकारी दिनुभयो । यसैगरी, उपभोक्ता हित मंच, मकवानपुरका अध्यक्ष बासु खतिवडाले उपभोक्ताका समस्या र चुनौतिहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पाण्डेले नेपालको संविधान २०७२ को धारा ३६ मा सु–निश्चित गरिएको खाद्य सम्बन्धी हक र त्यसका उपधाराहरुमा व्यवस्था गरिएको प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुनुका साथै कानून बमोजिम खाद्य सम्प्रभुताको हकसम्बन्धि जानकारी गराउनु भएको थियो ।